सेन्ट लरेन्स स्कुलमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ
काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स स्कुलमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार लायन्स क्लब अफ काठमाडौँ युनाइटेडको आयोजनामा रक्तदान कार्यक्रम तथा सेन्ट लरेन्स स्कुलको आयोजनामा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो। उक्त स्वास्थ्य शिविरलाई काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले प्राविधिक सहयोग गरेको थियो भने लाइफ लाइन हेल्थ होम केयर प्राली र सेन्ट लरेन्स कलेजले सहयोग गरेका थिए । कार्यक्रममा १० विधाका स्वास्थ्य परीक्षण सेवा तथा पाँच किसिमका ल्याब परीक्षण सेवा निःशुल्क प्रदान गरिएको थियो ।
कार्यक्रममा सामान्य चिकित्सा, प्रसूति तथा स्त्री रोग, हाड जोर्नी तथा नशा, बाल रोग, शल्य चिकित्सा सर्जरी, छाला रोग, आँखा परीक्षण तथा उपचार, दन्त सेवा , नाक, कान, घाँटी तथा भिडियो एक्सरे विभाग बाट दिइने सेवाहरू प्रदान गरिएको थियो । त्यस्तै ल्याब परीक्षण अन्तर्गत एचबि, युरिक एसिड, युरिया, ब्लड सुगर, र युरिन टेस्टको निःशुल्क सेवा सहभागीले प्राप्त गरेका थिए । कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् भने १५०० बढीले स्वास्थ्य परिक्षण गराएर लाभ लिएको आयोजकले जनाएको छ ।
मात्र एजुकेसन सँग कुरा गर्दै सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले अहिले देशभरका अस्पतालहरूमा रहेको रगत अभावको समस्यालाई केही हदसम्म समाधान गर्न र स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गरी निदानका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले विगत देखि नै स्कुलले यश किसिमका कार्यक्रम आयोजना गर्दै आएको भन्दै सहकार्यमा जोडिएका संस्थाहरूका कारण कार्यक्रम आयोजना गर्न अझै सहज भएको प्रतिक्रिया दिए । कार्यक्रममा देखिएको उत्साहजनक उपस्थितिले भविष्यमा पनि यस्तै सामाजिक हितको काम गर्न स्कुललाई उत्प्रेरित गरेको उनको भनाई थियो ।