नागरिकता विधेयकमा ‘बाबुको स्वघोषणा’ माथि राष्ट्रपतिको गम्भीर प्रश्न
राष्ट्रपति विद्यादेवी भण्डारीले आमाको नामबाट दिइने नागरिकताका मामिलामा गरिने व्यवस्थाहरुमा आमालाई नै केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा सन्देश पठाउँदै भनेकी छन्, ‘हाम्रो संविधानको लैङ्गिक समानता सम्बन्धी मार्गदर्शन बमोजिम आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राखिने गरी पुनर्विचार हुनु सान्दर्भिक हुन्छ ।’
राष्ट्रपति भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको पुनर्विचार गर्न आइतबार सन्देशसहित फिर्ता पठाएकी थिइन् । प्रस्तावित नागरिकता ऐनमा आमाले आफना सन्तानलाई नागरिकता दिलाउन बाबुका सम्बन्धमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । यस व्यवस्था प्रति संघीय संसदको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले ‘कतिपय प्रजनन अन्यायपूर्ण र शोषणयुक्त सम्बन्धबाट समेत भएको देखिने हुँदा यो व्यवस्था जरुरी भएको’ उल्लेख गरेकी छिन् ।
प्रजननबारे आमाको गोपनीयता सन्तानको नागरिकता प्राप्त गर्ने क्रममा सन्तान र राज्यका निकायसामु ‘बाबुका बारेमा स्वघोषणा’बाट अभिलेखीकरण गरिदा महिलामाथि लामो समयदेखि हुँदै आएका विभेद अन्त्य गर्न भएका संघर्ष निस्फल हुन सक्ने राष्ट्रपति भण्डारीले बताएकी छन् ।
उनले नियमावली बनाउँदा छोड्न लागिएको स्वघोषणा सम्बन्धी व्यवस्थालाई नागरिकता ऐनबाट सम्बोधन गर्नुपर्ने र आमा र सन्तान दुबैप्रति सम्मान र न्याय हुनेगरी पुनर्विचार गर्नुपर्ने बताएकी छन् ।