‘ मोबाइलमा घण्टी गइरहेको छ पाइलटको, टिटी लेक वरपर खोजिरहेका छौं’
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो ।
ठाकुरले अनलाइनखबरसँग भने, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।’
मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै टिटी लेकतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले जानकारी दिए ।