राष्ट्रिय जनमोर्चालाई गठबन्धनबाट अलग गर्ने प्रयास भइरहेको छ : उपाध्यक्ष पौडेल
राष्ट्रिय जनमोर्चाले आफूहरुलाई सत्तारुढ गठबन्धनबाट योजनावद्ध ढंगले अलग गर्ने प्रयास भइरहेको बताएको छ ।
उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) मा असहमति भए पनि सत्तारुढ गठबन्धन कायम राख्नुपर्छ भन्ने आफूहरुको मत रहेको तर योजनावद्ध ढंगले अलग गर्ने प्रयास भइरहेको बताएकी छन् । गठबन्धनमा रहेका अरु दलहरु बीचमा एमसीसीमा मतभेद भए पनि सम्झौता गर्ने वा कुनै मध्यमार्गी बाटो निकाल्ने प्रयास भइरहेको भन्दै उनले आफूहरु कुनै सम्झौता वा मध्यमार्गी बाटोको पक्षमा नरहेको उल्लेख गरेकी छन् ।
‘त्यसैले हुन सक्दछ, हाम्रो पार्टीलाई पाँच दलीय गठबन्धनबाट योजनाबद्ध प्रकारले नै अलग गर्ने प्रयत्न भइरहेको छ । तर जुनसुकै कारणले भए पनि गठबन्धन टुटेमा त्यसले देशलाई प्रतिगमन र अधिनायकवाद वा फाशिष्ट शासनतिर लैजाने छ भन्ने हाम्रो पहिलेदेखिको मत रहँदै आएको थियो र अहिले पनि छ’ उनले भने ।