थरका कारण कोठा नदिएको उजुरी परेपछि प्रहरीले पक्रियो बबरमहलकी घरबेटी
थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्।
काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
'हामीले घरबेटीविरूद्ध अस्ति शुक्रबार नै पक्राउ अनुमति लिएका थियौं,' उनले भने।
रूपाले पनि घरबेटी पक्राउ परेकोबारे आफूले थाहा पाएको बताएकी छन्।
आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।
भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्।
रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।
रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।
त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।
यो पनि:
‘पहिला हुन्छ भनेकी घरबेटीले म कामीकी छोरी हुँ भन्दा कोठा दिन मानिनन्’
तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।
इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमासँग भाडाको कोठा थियो।
कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन्।
आमा-छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो। त्यही भएर उनी सर्नका लागि कोठा खोजिरहेकी थिइन्। कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीहरूलाई भनेकी थिइन्।
मंगलबार दिउँसो उनकी एकजना साथीले बबरमहलमै कोठा छ हेर्न जाउँ भनिन्। उनीहरू तीन जना भएर कोठा हेर्न गए।
घरबेटी प्रधान थरका रहेछन्। कोठा हेरेपछि रूपालाई मन पर्यो।
घरबेटीसँग भाडाको कुरा भयो। कुरा मिल्यो। घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने बताइन्।
‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न,' घरबेटीले भनेको कुरा उद्धृत गर्दै रूपाले सेतोपाटीसँग भनिन्,‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई। एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ। बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन। सबै जना मिलेर बस्नुपर्छ।'
रूपाले आमालाई पनि एकपल्ट कोठा देखाउन ल्याउने बताइन्।
त्यत्तिकैमा घरबेटीले थरको कुरा उठाइन्।
‘मैले सिधै भनें-म कामीको छोरी हुँ,’ रूपाले भनिन्।
उनको थर सुनेर घरबेटीले केही बोलिनन्। केहीबेर अघिसम्म मिलेर बस्नुपर्ने भनेकी उनी अकमकिइन्। रूपा र उनकी साथीहरू पनि केही बोल्न सकेनन्।
त्यसपछि घरबेटीले अनकनाएर भनिन्, ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु।’
घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन्।
साथीसँगै उनी कोठामा फर्किइन्।
घरबेटीले केहीबेरपछि उनकी साथीलाई फोन गरिछन् र कोठा नदिने कुरा सुनाइछन्।
'हामी फर्किएको केहीबेरपछि उहाँले साथीलाई फोन गरेर यस्तो-यस्तो मान्छे पो ल्याउनुभएछ है, मलाई त थाहा भएन। बस्न मिल्दैन भनेर भन्नुभयो,' उनले भनिन्।
त्यसपछि रूपालाई यो कुरा आफूमा मात्र सीमित राख्न र चित्त दु:खाएर दबाइरहन मन लागेन।
साभारः सेतोपाटि