नेपाललाई ३ वटा काेराेना खोप उपयुक्त
(काठमाडौँ) परीक्षणको अन्तिम चरणमा रहेका काेराेना भाइरस (कोभिड–१९) विरुद्धका चार खोपको चर्चा चलिरहेका बेला नेपाली विज्ञहरूले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपमा विशेष चासो देखाइरहेका छन् ।
फाइजर-बायोएनटेकबाहेक अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र ग्यामेलिया इन्स्टिच्युटको खोप यहाँ उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ ।
अक्सफोर्ड–अस्ट्राजेनेकाले तयार पारेको एजेडडी १२२२ र रुसको ग्यामेलिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ कम मूल्य पर्ने देखिएका छन् । स्पुतनिक खोपको भाइल माइनस १८ डिग्री सेल्सियसभन्दा तल्लो तापक्रममा भण्डारण गर्नुपरे पनि यसको सुक्खा संस्करण २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । हाल मुलुकमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवामा १५ महिनासम्मका बालबालिकालाई १२ वटा एन्टिजेन (रोगविरुद्ध खोप) दिइराखिएको छ । यी खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्ने गरिएको छ । राजधानीलगायतका केही ठाउँमा माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमतासमेत छ ।
‘सरकारले कोभिड खोपको बजारमा उपलब्धता, लागत, कोल्ड चेन, परिवहन आदिका लागि उपलब्ध पूर्वाधार एवं गुणस्तर, सुरक्षा र प्रभावकारितालाई मुख्य प्राथमिकता दिएर बुझिरहेको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘हामीलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोप परिवहन र लगाउनसमेत सहज हुन्छ ।’ उनले अक्सफोर्ड–अस्ट्राजेनेका खोपले बेलायतमा आकस्मिक उपयोगको अनुमति पाएपछि प्रक्रिया पुर्याएर भारतमा समेत प्रयोग हुने सम्भावना रहेको बताए । डा. गौतमले खोप लगाउने रणनीतिक योजना पनि तयार गरिरहेको जानकारी दिए ।