‘पूर्वसचिवको बाहुल्य रहेसम्म अख्तियारबाट धेरै आशा नगरे हुन्छ’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) को नियुक्ति हेर्दा प्रायःजसो सचिवबाट सेवानिवृत्तहरू नै आयुक्त वा र प्रमुख आयुक्त बनेको देखिन्छ । नवीन घिमिरेदेखि राधारमण रेग्मीसम्म पुग्दा तपाईँ पूर्वसचिव नै पूर्वसचिव भेट्नुहुन्छ ।
मैले थाहा पाएअनुसार स्वतन्त्र क्षेत्रबाट एकजना वेदप्रसाद शिवाकोटी जानुभयो । सूर्यनाथ उपाध्यायजीका पालामा पनि एकजना पूर्वन्यायाधीश आयुक्त भएका थिए । नभए कानूनी पृष्ठभूमिबाट एकदमै कम लगिएका छन् ।
मानिसको पुरानो बानी धेरै गाह्रोसँग जान्छ । ५८ वर्षमा तपाईं जागीरबाट अवकाश हुनुभयो, त्यतिबेलासम्म त तपाईंको बानी बसिसक्यो । सर भन्ने, हजुर भन्ने, प्रधानमन्त्रीज्यू भन्ने मन्त्रीज्यू भन्ने बानी बसिसकेको हुन्छ । उसको अधीनमा बस्ने बानी बसिसकेको हुन्छ । त्यो बानी फाल्नै सक्नुहुन्न ।
तर, वकिलले फाल्न सक्छ । निर्भीक न्यायाधीशले फाल्न सक्छ । इञ्जिनियरले सक्छन् । केही कर्मचारीले पनि सक्छन् । तर, अख्तियारमा सबै पूर्वसचिव मात्रै लानुपर्छ भन्ने होइन ।
के संवैधानिक पद भनेको सबै पूर्वसचिवहरुका लागि मात्रै राखेको हो त ? यो एउटा गम्भीर प्रश्न छ नेपालमा । लोकसेवा अयोग, निर्वाचन आयोगको अवस्था पनि त्यस्तै छ ।
यो सन्दर्भमा मैले उठाउन चाहेको मौलिक प्रश्न के हो भने सचिव भनेका लामो समय कार्यपालिकाको अधीनमा बसेर काम गरेका हुन्छन् । कार्यपालिकाको अधीनमा बसेको मान्छे आउनै हुँदैन भन्ने होइन । तर, अहिलेसम्मको अभ्यास हेर्दा प्रधानमन्त्रीलाई रिझाउन सक्ने वा प्रधानमन्त्रीलाई मन परेको व्यक्ति मात्रै आएको देखिन्छ । पूर्वसचिवहरू एउटा न एउटा प्रधानमन्त्रीको अधीनका मान्छे हुन् ।
अख्तियार दुरुपयोग गर्ने भनेको कार्यपालिका वा सरकारले नै हो । त्यसरी अधिकार दुरुपयोग गरेकै व्यक्ति ल्याउँदा हामीले जस्तो स्वतन्त्र अदुअआको कल्पना गरेका छौं, कार्यान्वयन पक्ष त्यस्तो छैन । त्यसकारण प्रमुख आयुक्त र आयुक्तहरू स्वतन्त्र व्यक्ति नै हुनुपर्छ । कार्यपालिकाको अधीनमा बसेको र कार्यापालिकालाई रिझाएको व्यक्ति हुनुुहुँदैन । अहिलेसम्मको अभ्यासले पनि त्यही देखाउँछ ।
सरकारमा जो बसेको छ, उसैलाई मनपरेका व्यक्तिहरू लगेर अदुअआको आत्मा जीवन्त बन्नै सक्दैन । सार्वजनिक पदमा बसेका व्यक्तिले अख्तियारको दुरुपयोग गर्नु भनेको कानूनको प्रयोग गर्नबाट डग्मगाउनु हो । अथवा कानूनको प्रयोग र पालना गर्दा आफ्नो वा अरुको आर्थिक स्वार्थ पूरा गर्नु पनि भ्रष्टाचार हो ।
बाहिरबाट हेर्दा ठीकैठीकै जस्तो देखिने तर कानूनको मर्म, उद्देश्य र भावना विपरीतका कार्यको सुक्ष्म विश्लेषण गर्नका लागि कार्यपालिकामा बसेका वा अन्य क्षेत्रका व्यक्ति भन्दा कानून क्षेत्रमा काम गर्नेहरूले गर्न सक्छन् । कानून क्षेत्रमा प्राध्यापन, वकालत, न्यायपालिका वा सरकारी वकीलको रुपमा काम गरेका व्यक्तिहरू मध्येबाट सबैभन्दा योग्यलाई नियुक्ति गरे हुन्छ ।
राजनारायण पाठकजी सरकारी वकिलबाट जानुभयो । तर, उहाँमाथि ठूलो दाग, ठूलो भ्रष्टाचारको प्रश्न चिह्न छ । कानून क्षेत्रको पनि अयोग्य र गलत मान्छेचाहिँ लानुहुँदैन भन्ने उदाहरण राजनारायणजी हुुन् ।
आयुक्तले नै रिसवतयुक्त काम गरेपछि अख्तियारको गरिमा रहँदैन भनेर त सूर्यनाथजीले अनलाइनखबरमै भन्नुभएको छ । यस्ता गतिविधिले आयोगकै आस्थामाथि, विश्वासमाथि प्रश्न उठाएको छ भन्नुभएको छ, त्यो यथार्थ हो, वास्तविकता हो ।
साभारः अनलाइन खबर