कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो
कोरोना भाइरसका कारण मर्नेको संख्या अमेरिकामा ३० हजार नाघेको छ।
बुधबारसम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको रोयटर्सले जनाएको छ। अमेरिकाभर बुधबारमात्र दुई हजार ३ सय ७१ जनाको ज्यान गएको छ।
अमेरिका कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक हो। यसैगरी संक्रमित संख्या ६ लाख ३६ हजार ६ सय ४ पुगेको रोयटर्सले उल्लेख गरेको छ।
न्यू योर्क, क्यालिफोर्निया, लुइसियाना, न्यू जर्सी, म्यासाचुसेट्स र मिशिगन भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यहरू हुन्।रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकामा प्रतिदिन २५ हजार नयाँ संक्रमित भेटिने गरेका छन्। यसअघि यो दर त्यहाँ ३५ हजार प्रतिदिनसम्म पुगेको थियो।
यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी आफ्नो उच्चतम बिन्दुमा पुगिसकेको र त्यसमा सुधार आउन थालेको बताएका छन्।