विना काम घर बाहिर निस्कनेलाई ३६ सय युरो जरिवाना
विश्वमा अहिले कोरोना भाइरस संक्रमणको सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको युरोपेली मुलुक इटालीसँग सिमाना जोडिएको देश अष्ट्रियामा समेत कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढिरहेको छ । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १३ सय ३२ पुगिसकेको छ भने ४ जनाको मृत्यु भैसकेको छ ।
संक्रमितको संख्या ३ दिनमा दोब्बर हुने गरी उच्च दरमा बढेसँगै गम्भीर अवस्था सिर्जना भएको ठहर गर्दै अष्ट्रियामा सरकारले विशेष नियम लागू गरेको छ । ‘अउसगाङ्ग स्प्येरे’ भनिने उक्त नियम अनुसार मानिसहरुलाई विनाकारण घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । यद्यपि कतिपय युरोपेली मुलुकमा जस्तो अष्ट्रियालमा आपतकालीन अवस्थाको घोषणा गरिएको भने होइन । भाइरस संक्रमण तथा फैलावट रोक्नका लागि सार्वजनिक गतिविधिमा रोक लगाइएको र मानिसहरुलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ ।
अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएको पाइएमा पुलिसले पक्राउ गर्न सक्ने र ३६ सय युरो सम्म जरिवाना लगाउने नियम लागू भएको छ ।
खाद्यान्न पसलहरु, स्वास्थ्य संस्था तथा औषधि पसल तथा हुलाक लगायतका सेवाप्रदायक निकाय बाहेक सबै व्यापार व्यवसाय बन्द गराइएको छ । शिक्षण संस्थाहरु समेत आगामी अप्रिल मध्य सम्मका लागि बन्द गरिएको छ र विद्यार्थीहरुका लागि घरमै बसेर अनलाइनबाट पढ्न सक्ने व्यवस्था मिलाइएको छ ।
कुनै पनि सरकारी कार्यलय, अस्पताल र सार्वजनिक स्थलमा सिधै प्रवेश गर्ने अवस्था छैन । सामान डेलिभरी गर्नेहरुले ढोका बाहिर नै सामान दिनुपर्ने र भित्र छिर्नुपर्ने ठाऊँमा विभिन्न नियमहरु पालना गरेर मात्रै छिर्र्नेे व्यवस्था गरिएको छ ।