चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने
चीनमा कोरोना संक्रमितको संख्या ८० हजार आठ सय ४४ जना पुगेको छ, जसमध्ये तीन हजार एक सय ९९ जनाको मृत्यु भएको छ। निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार नौ सय ११ जना बिरामी निको भएर घर फर्केका छन्।
चीनले पछिल्लो पटक विदेशी यात्रुहरूलाई नयाँ नियमहरू घोषणा गरेको छ। चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ।
करिब सात सय २४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ। इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो। बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ। बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुशरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ।
अर्कोतर्फ फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ। नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौन क्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ।
धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन्। अस्ट्रियाले पाँच भन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो। नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ।
पोर्चुगलले पनि घातक कोरोनाभाइरसको विस्तारलाई सुस्त पार्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ।
अस्ट्रेलिया र न्युजिल्यान्डले विदेशबाट आउने जोकोहीले दुई हप्ता अलग्गै बस्नु पर्ने जनाएका छन्। अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन्।
‘कोरोना भाइरस हामीमाथि प्रतिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको दण्डसजाय हो,’ जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले भने। दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गरेका छन्।