बचतकर्ताको ८ करोड लिएर भागेका सहकारी सञ्चालक अझै पक्राउ परेनन्
(वीरगञ्ज) पर्साको छपकैयाँकी खैरुन नेसा बिहान चिया बेच्ने र दिउँसो कवाडीमा काम गर्ने गर्छिन् । बिहान बेलुकीको छाक टारेपछि बचेको पैसा सहकारीमा बचत गर्थिन् । बचत ४ वटा छोरीको विवाहमा काम लाग्छ भन्ने उनलाई लाग्थ्यो ।
तर प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक २४ चैत ०७५ मा भागेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । दुःखका साथ जोडेको ७२ हजार रुपैयाँ फिर्ता दिलाई पाऊँ भनेर प्रहरी प्रशासन धाउँदाधाउँदा उनी हैरान भैसकेकी छन् । भन्छिन्, ‘न कसैले सञ्चालक खोजिदिन्छन्, न कसैले पैसा फिर्ता दिन्छ । काम छोडेर सधैं प्रहरी प्रशासन धाउन पनि सकिँदैन ।’
वीरगञ्जकी अदिना खातुनको पीडा पनि उस्तै छ । श्रीमान ठेला चलाउँछन्, उनी कवाडीको काम गर्छन् । दुवै मिलेर सहकारीमा बचत गर्न थाले । त्यो रकम १ लाख ६० हजार रुपैयाँ पुगिसकेको थियो । तर सहकारी सञ्चालक फरार भए ।
सहकारीका सञ्चालक राजेश पटेल र उनकी श्रीमती रिताकुमारी पोखरेलले आफ्नो डेढ करोड लिएर भागेको वीरगञ्ज-४ का देव नारायण भँडेल बताउँछन् । ‘पानी ट्याङकीमा मेरै घर भाडामा लिएर होटल चलाउँदै आएका थिए । सिमराको जग्गा बेचेर पैसा आएको थाहा थियो,’ उनले भने, ‘सहकारीको मुद्धती खातामा जम्मा गर्नुस्, दुई वर्षमा घर किन्ने पैसा हुन्छ भन्ने लोभ देखाएर जम्मा गर्न लगायो ।’