३४ देशको सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट
(काठमाडौं) बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ ।
प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको टोलीले पदक पाएको हो ।
‘युद्धकालीन बिशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ’, सहायक रथी पाण्डेले भने, ‘अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ ।’
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो, जसमा नेपालसहित ३४ देश र बेलायती फौजका १०६ समेत गरी १४० सैन्य टोली सहभागी थिए ।
नेपालबाट गुरुङको नेतृत्वमा गएको टोलीमा विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी थिए
सहभागी टोलीको लडाईँका लागि तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षता परिक्षण गरिने पाण्डेले बताए ।
सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।