खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा फिर्ता प्रक्रिया जारी
(काठमाडौं) गैरकानूनी रूपमा भोगचलन भइरहेको खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया सुरु भएको छ ।
अनलाइनखबरले १४ असोजमा ‘खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा बिक्री’ शीर्षकमा विस्तृत समाचार प्रकाशन गरेपछि सम्बद्ध निकायले जग्गा खाली गराउने प्रक्रिया थालेको हो ।काठमाडौं महानगरपालिका–२८ नम्बर वडा कार्यालय र गुठी संस्थानको मिलोमतोमा खुलामञ्च र रत्नपार्कको बीचमा रहेको दुईमाजु गुठीको एक रोपनीभन्दा बढी जग्गा गैरकानूनी रुपमा व्यक्तिको निजी सम्पत्तिसरह प्रयोग भइरहेको समाचार आएपछि सम्बद्ध निकायले चासो देखाएको हो ।
गुठी संस्थान काठमाडौं शाखाका कार्यालय प्रमुख शैलेन्द्र पौडेल अनधिकृत रुपमा प्रयोग भइरहेको दुईमाजु गुठी मन्दिरको जग्गा खाली गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँछन् । गुठी संस्थानसँग १५ हजार रुपैयाँमा भाडामा लिएर मासिक लाखौं रुपैयाँ असुली भइरहेको छ ।
विनाटेण्डर जग्गा भाडामा लिएर गैरकानूनी रुपमा ३५ वटा पसल सञ्चालन गर्न दिएकी अमृता भट्टराईले अनलाइनखबरमा समाचार आएको भोलिपल्ट सम्झौता खारेजीको माग राखेर गुठी संस्थान काठमाडौं शाखामा निवेदन दिएकी छन् ।उनले निवेदनमा भनेकी छन्, ‘…मेरो कार्यव्यस्तताले र अन्य विविध समस्याहरूको कारणले गर्दा सम्झौता अनुसार सम्पूर्ण जिम्मेवारी बहन गर्न असमर्थ रहेको हुँदा आजैका मितिदेखि मेरो नामबाट दायित्व कट्टा गरी सम्झौता खारेज गरिदिनु हुनसमेत श्रीमानसमक्ष अनुरोध गर्दछु ।’
१५ असोजमा लेखेको भट्टराईको निवेदन सनाखत भएपछि जग्गा खाली हुने गुठी संस्थान काठमाडौंका कार्यालय प्रमुख पौडेलले जानकारी दिए । उनी भन्छन्, ‘निवेदन उहाँको श्रीमानले लिएर आउनुभएको थियो, निवेदक आफैं उपस्थित भएपछि जग्गा खाली हुन्छ ।