६ महिनाभित्र डेढ सय मेगावाट बिजुली थपियो
(काठमाडौं) ०७६ को पहिलो ६ महिनामा करिब १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । वैशाखयता विद्युत् प्राधिकरणले बनाइरहेका दुईसहित आधा दर्जन आयोजनाले व्यवसायिक वा परीक्षण उत्पादन थालेका छन् ।
गत आर्थिक वर्षभरिमा ७८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा थप भएको थियो । निजी क्षेत्रका आयोजनाहरूबाट ४८ मेगावाट र सरकारीबाट ३० मेगावाट मात्रै बिजुली उत्पादन थालिएको थियो । यो आर्थिक वर्षमा भने ९ सय मेगावाट उत्पादन थपिने नेपाल विद्युत् प्राधिकरणको आकलन छ ।
‘यो वर्षको सुरुआतबाटै आयोजनाहरू राष्ट्रिय प्रसारणमा जोडिने क्रम जारी छ,’ प्राधिकरणको विद्युत् भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भने, ‘आशा गरौं कि सबैले लक्ष्यअनुसार आयोजनाहरूको निर्माण सकेर प्रणालीमा जोडिनेछन् ।’
अहिले कतिपय निजी क्षेत्रका आयोजनामा धमाधम काम भइरहेका छन् । प्राधिकरणको सहायक कम्पनीअन्तर्गत माथिल्लो तामाकोशी आयोजना पनि यसै वर्ष निर्माण सकाउने गरी अन्तिम चरणमा छ ।
यस आर्थिक वर्षको अन्त्यबाट नेपालले ठूलो परिमाणमा बिजुली भारत पठाउन सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । डिसेम्बरसम्ममा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै उनले आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने दाबी गरे ।
‘लक्ष्यअनुसार काम भयो भने माथिल्लो तामाकोशीसहित ११५० मेगावाटका आयोजनाहरूले यस वर्षको अन्त्यसम्म उत्पादन थाल्नेछन्,’ घिसिङले भने ।