पोखरा विमानस्थलको नाफा बर्सेनि बढ्दै छ ।
(पोखरा) यात्रुको चाँप र हवाइ जहाजको उडान थपिँदै जाँदा पोखरा विमानस्थलले हरेक वर्ष नाफा कमाउने गरेको छ। आर्थिक वर्ष ०७५र७६ मा पोखरा विमानस्थलले झन्डै साढे नौ करोड रुपैयाँ कमाइ गरेको थियो।
विमानस्थलको उक्त आर्थिक वर्षको खर्च भने जम्मा ४ करोड रुपैयाँ थियो। खर्च कटाउँदा पनि झन्डै साढे पाँच करोड रुपैयाँ विमानस्थलले नाफा कमाएको छ।
आम्दानी थपिँदै जाँदा हरेक वर्ष विमानस्थलको नाफा पनि बढ्दै गएको नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीले जानकारी दिएका छन् । आन्तरिक गन्तव्यमा मात्र उडान गर्ने यो विमानस्थलले अघिल्लो वर्षभन्दा ०७५र७६ मा एक करोड रुपैयाँ बढी कमाएको थियो। आर्थिक वर्ष ०७४र७५ मा पोखरा विमानस्थलको आम्दानी ८ करोड ३७ लाख रुपैयाँ थियो।
भूकम्प गएको वर्ष केही घटेर कमाइ गरे पनि त्यो वर्ष पनि यो विमानस्थल घाटामा थिएन। ‘पोखरा विमानस्थल हरेक वर्ष नाफा गर्नेमा अग्रणी स्थानमा छ,’ विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाँइले भने, ‘हरेक वर्ष यहाँको नाफा बढिरहेको छ।
आगामी आर्थिक वर्ष अहिलेको भन्दा ३० प्रतिशतसम्म आम्दानी बढ्ने अनुमान छ।’ दोहोरो अंकमा आम्दानी पु(याउने लक्ष्य रहेको गुरागाँइले बताए।
हवाई यात्रुको आगमन बढ्दै जानु, हवाई सेवा कम्पनीको सेवा थपिनु, पोखराका आकासमा हुने रोमाञ्चक गतिविधिमा पर्यटक रमाउँदा हुने उडानलगायतले विमानस्थलको नाफा थपिने उनको भनाइ छ। गुरागाईँका अनुसार आर्थिक वर्ष ०७३र७४ मा विमानस्थलको आम्दानी ६ करोड ३९ लाख रुपैयाँ थियो।
‘भूकम्प गएको वर्ष केही कमी आम्दानी भएको हो। त्यो वर्ष पर्यटकको आउजाउ घट्यो, त्यसले गर्दा आम्दानी पनि खस्किएको हो,’ उनले भने, ‘तर पनि हामी नोक्सानमा थिएनौं। नाफा थोरै घटेको मात्र थियो।’
उनका अनुसार जहाज ल्यान्डिङ, पार्किङ, यात्रुसेवा, विज्ञापन, भाडा, विमानस्थल ट्याक्स लगायतबाट आम्दानी हुन्छ। विमानस्थलबाट हुने अल्ट्रालाइट उडानको आम्दानीसमेत यसमै थपिन्छ। पोखराको आकासमा पर्यटक सयर गराउने तीनवटा अल्ट्रालाइट कम्पनी छन्। त्यस्तै हेलिकप्टर कम्पनीले पनि पोखरालाई स्टेसन बनाउने गरेका छन्। त्यसबाहेक ठूला आकारका आन्तरिक उडानका जहाजले पनि पोखरालाई नै आधार बनाएर उडान गर्न थालेका छन्। ‘पहिलेभन्दा उडानको सेक्टर पनि बढेका छन्। त्यसबाहेक यात्रु संख्या त हरेक वर्ष थपिएकै छ,’ गुरागाइँले भने। अहिले पोखरा विमानस्थलबाट काठमाडौं, जोमसोम, भरतपुर र भैरहवा नियमित उडान भइरहेको छ। भरतपुर र भैरहवालाई पछिल्लो समय निजी कम्पनीले नयाँ रुट बनाएर उडान गरिरहेका छन्।
विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार पछिल्लो आर्थिक वर्षमा पोखरा विमानस्थल प्रयोग गर्ने यात्रुको संख्या ६ लाख बढी रहेको छ। सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको र त्यो वर्ष अझै बढी पाहुना पोखरा आउने हुँदा उडान बढेर विमानस्थलको नाफा थपिने उनले बताए।
‘सरकारी योजनाअनुसार हुने हो भने सन् २०२० मा पोखरामा अहिलेभन्दा अझै बढी पर्यटक आउनेछन्। त्यसबाहेक अरु केही निजी हवाई सेवा कम्पनीले पनि पोखरामा उडान थाल्ने तयारी गरिरहेका छन्,’ पौडेलले भने, ‘हवाई कम्पनी थपिनासाथ यात्रु बढ्न गई विमानस्थलकै नाफा बढ्ने हो।’
आन्तरिक यात्रुका कारण पनि पछिल्लो समय पोखरा विमानस्थलको व्यस्तता बढेको छ। स्थलमार्गको आउजाउ सहज नहुँदा पछिल्लो समय धेरै आन्तरिक पाहुनाले हवाई यात्रा रोज्न थालेका छन्। ‘आन्तरिक यात्रु यति धेरै थपिएका छन् कि चाहेको बेला हवाई टिकट पाउनै मुस्किल छ,’ उनले भने, ‘स्थल मार्गमा बारम्बार अवरोधका कारण हवाइ यात्रु बढ्दै गए। त्यसले विमानस्थलको आम्दानी बढायो।’