सामुदायिक विद्यालयमा 'स्यानेटरी प्याड' सहितको एटिएम मेशिन जडान
काठमाडौं २८ साउन : कञ्चनपुरको बेदकोट नगरपालिकाले विद्यालय र स्वास्थ्य चौकीमा स्यानेटरी प्याड सहितको एटिएम मेशिन जडानको कार्य प्रारम्भ गरेको छ। नगरपालिका क्षेत्रमा रहेका २४ वटा सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा गरी ३३ स्थानमा स्यानेटरी प्याड सहितको एटिएम जडान गर्ने कार्य शुरु गरिएका हो। रजस्वला हुँदा छात्रा विद्यालय आउने क्रम निकै कम थियो नगर प्रमुख अशोककुमार चन्दले बताए। उनले भने, ‘स्यानेटरी प्याड सहितको एटिम जडान गरिएपछि सहज रुपमा छात्रा विद्यालय आउने छन। छात्राको विद्यालय आउने दर बढाउनका लागि यसले सहयोग गर्ने छ।’
'रजस्वला हुनेहरूले फोहर कपडाको प्रयोग गर्दा संक्रामक रोग सर्ने डर समेत हुन्थ्यो', उनले भने, ‘मेशिन जडानपछि प्याडको प्रयोग गर्ने छात्रालाई रोग सर्ने क्रमबाट समेत मुक्ति मिल्ने छ।’ स्वास्थ्य चौकीमा समेत सेवाग्राही महिलालाई लक्षित गरी मेशिन जडान गरिएको उनको भनाई रहेको छ। विद्यालय र स्वास्थ्य चौकीमा यति धेरै स्यानेटरी प्याड सहितको मेशिन जडान गर्ने नगरपालिका मध्ये बेदकोट नगरपालिका देशमै पहिलो हो। विद्यालय र स्वास्थ्य चौकी सँगै नगरपालिका कार्यालयमा समेत स्यानेटरी प्याड सहतिको एटिम मेशिन जडान गरिएको छ। स्यानेटरी प्याड सहितको एटिएम मेशिनका लागि नगरपालिकाले २५ लाख तीनहजार ७४४ रकम खर्च गरेको छ।
स्यानेटरी प्याडसहितको एटिएम मेशिनबाट प्याड निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरिएको छ। स्यानेटरी प्याड सहितको एटिम सेवाको मंगलवार नगर प्रमुख चन्दले भुवनेश्वरी माध्यमिक विद्यालय सिसैयामा उद्घाटन समेत गरे।
रासस