४ करोडको पुल ११ वर्ष पनि टिकेन, दुर्घटना टार्न बेली ब्रिज बनाइँदै
काठमाडौैं । पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेली ब्रिज (पुल) निर्माणको काम द्रुत रुपमा अघि बढेको छ । विजयपुरमा बनाइएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेली ब्रिज राख्ने काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेली ब्रिज निर्माणको काम भइरहेको छ ।
विजयपुर खोलामा बेली ब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय पोखरामार्फत गत चैतमा ठेकेदारको चयन गरी निर्माण प्रक्रिया तत्कालै सुरु गरिएको थियो । बेली ब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) ले पाएको छ । सडक र ठेकेदार कम्पनीसँग गत २२ वैशाखमा सम्झौता भएर कामअघि बढेको छ । असार मसान्तभित्रै निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा लिएको हो । २ करोड २० लाख रुपैयाँ लागतमा बेली ब्रिज निर्माण हुनेछ ।
बर्खालाई ख्याल गर्दै ठेकेदार कम्पनीले तदारुकतासाथ काम गरिरहेको सडक डिभिजन कार्यालयका सहायक इन्जिनियर श्रीकृष्ण बरालले जानकारी दिए ।‘पुलको भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्रीमध्ये चार टिप बेली ब्रिजको सामग्री ढुवानी भइसकेको छ,’ उनले भने,‘छिट्टै नै आवश्यक सामग्री ढुवानीको काम सकिन्छ ।’पूर्वको इटहरी सडक डिभिजनअन्तर्गत थन्किएको बेली ब्रिजका सामानहरु विजयपुरमा प्रयोगमा ल्याइएको इन्जिनियर बरालले बताए ।
हालसम्म पुल निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै यही गतिमा काम अगाडि बढे असारभित्र नै पुल निर्माण भइसक्ने उनले बताए। तत्कालको समयस्या समाधानका लागि यस बेली ब्रिज पुलको निर्माण गरिएको उनले बताए।‘बेली ब्रिज पुल तत्कालको समस्या समाधानका लागि बनाइएको अस्थायी प्रकृतिको पुल हो,इन्जिनियर बरालले भने,‘२ लेनमा ५० मिटर लम्बाइको बेली ब्रिज निर्माण हुँदैछ ।’पुलको भारवहन क्षमता भने १ सय टन हुने डिभिजन कार्यालयले जनाएको छ ।
विजयपुरमा राखिने पुलको सामग्री पूर्वका जिल्लामा प्रयोगमा आइसकेपछि झिकिएको थियो । २ लेनमा ५० मिटर लम्बाइको बेली ब्रिज निर्माण हुनेछ । पुलको भार बहन क्षमता भने १ सय टन हुने कार्यालयले जानकारी दिएको छ । विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ । सवारीको अत्यधिक चापका कारण बढेको जामले ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ ।
पोखरा भित्रिने विजयपुर खोलामा पुल बनेको लामो समयसम्म मर्मत सम्भारको काम भएको थिएन । सडक विभागका इन्जिनियरहरुको सल्लाहअनुसार सडक विभागले विजयपुर पुलको रंगरोगन र मर्मत सम्भार गर्ने योजना बनायो । सडकको योजनाअनुसार काम गर्ने क्रममा पुल ११ ठाउँमा चर्केको फेला परेको थियो । २२ फागुनमा मर्मतको क्रममा पुल छियाछिया अवस्थामा देखेपछि कार्यालयले गत २६ जेठदेखि पुलमा १० टनभन्दा बढी भारवहन भएका हेभी गाडीहरु निषेध गरेको थियो । पुलको अवस्थाबारे एक–दुई दिनपछि मात्र हेरेको भए पनि पोखराले ठूलो दुर्घटना बेहाेर्नुपर्ने अवस्था रहेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल बताउँछन् । पुलको ‘बटम कर्ड’ (फलामको मूख्य सापो) मा नै क्षति पुगेको थियो । त्योसँगै क्रस मेम्बर पनि चर्किएका थिए । वेल्डिङ गरिएका विभिन्न आठ स्थानमा चिरा परेको थियो ।
सडक विभागले विजयपुर खोलामा स्थायी (ढलान) पुल निर्माणका लागि २०५९ सालमा टेन्डर आह्वान गरेको थियो । पुल निर्माण दुई वर्षभित्र सक्नुपर्ने भए पनि २०६४ मा मात्र पुलको निर्माण कार्य सकिएको थियो । २०६४ मा सम्पन्न भएको पुल २०७५ को अन्त्यमा भाँचिएर काम नलाग्ने अवस्थामा पुगेको हो । पुल जोखिममा परेपछि गण्डकी प्रदेशसभा बैठकमा पनि लगातार दुई दिन कुरा उठ्यो । संघीय संसदमा पनि त्यस क्षेत्रका सांसद् एवं पूर्वमन्त्री खगराज अधिकारीले लगातार ठेकेदार र इन्जिनियरलाई कारबाहीको माग गरेका थिए ।
बीटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले पुल निर्माण गरेको थियो । यो पुल हुँदै दैनिक ६ हजार सवारीसाधन गुड्ने गरेका छन् । निर्माण पछि पुलको एकपटक पनि मर्मत गरिएको थिएन । सडक डिभिजनले विजयपुर पुल बनाउन २०५९ मा आह्वान गरेको टेन्डरमा ठेकेदार कम्पनीले सरकारी लागत अनुमानभन्दा आधा घटेर ठेक्का लिएको खुलेको छ । सडक विभागले पुल बनाउन ७ करोड ४७ लाख ६९ हजार रुपैयाँको लागत इस्टिमेट गरे पनि ठेकेदार कम्पनीले जम्मा ३ करोड ७० लाख ७६ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको थियो । टेन्डरपछि पुल बनाउन १५ जेठ २०६० मा सम्झौता भएको थियो । पुल २०६५ जेठमा सञ्चालनमा आएको थियो । पुलको डिजाइन भने नेपाल इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो ।
गण्डकी प्रदेशका अर्थ तथा विकास सभापति दीपक कोइराला निर्माणको काम घटीघटाउ प्रक्रियामा दिने र प्राविधिकले गुणस्तरबारे आवश्यक मात्रामा अनुगमन नगर्दा गुणस्तरीयता कायम हुन नसक्ने बताउँछन् । ‘सरकारी लागत इस्टिमेटभन्दा आधा घटेर ठेक्का लिएपछि कसरी गुणस्तरीय काम सम्भव हुन्छ,’ उनले भने ।