डोटीमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी, सम्पुर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट
काठमाण्डौ ७ श्रावण । डोटीको जोरायल गाउँपालिका वडा न. ४ को लक्ष्मीनगर कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेका छन । अन्दाजी १२ बजेको समयमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको हो।
आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका सम्पुर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सचिवको कार्यकक्ष रहेको कोठामा भएका कागजातहरु पनि पूर्ण रुपमा जलेर नष्ट भएका केहि फर्निचर मात्रै बाँकी रहेका वडा अध्यक्ष नन्दराज भट्टले जनाएका छन । साथै वडाका सम्पूर्ण फर्निचरसहित कार्यालयको छाना समेत जलेर नष्ट भएको जोरायल इलाका प्रहरी कार्यालयका प्रमुख सइ महेन्द्र थापाले बताउन’ भयो ।
प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबारदेखि देशभरमा सरकारी सवारी साधनमा प्रतिवन्ध लगाउने घोषणा गरेको अघिल्लो राति वडा कार्यालय जलाइएको र सो क्षेत्रमा सोमबार दिउँसो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता देखिएको भन्ने सुन्नमा आएकाले आगजनी पनि उनिहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ। केहि समय पहिले जोरायल गाउँपालिकाले चलचित्र ‘साङ्लो’का लागि १० लाख बजेट विनियोजन गरेर गाउँपालिकाका विभिन्न क्षेत्रमा उक्त चलचित्र छायाङ्न भएकोमा निकै विरोध भएको थियो। वडा कार्यालयमा आगजनी हुनुमा त्यसको असर पनि देखिएको छ। प्रहरीका अनुसार घटनाको थपअनुसन्धान भइरहेको बताएको छ।
