आन्दोलनरत शिक्षकमाथि प्रहरीद्वारा लाठी चार्ज
आन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको थियाे । त्यसक्रममा प्रहरीले अस्थायी शिक्षकहरुमाथि लाठी चार्जका साथै धडपकड गर्याे । प्रहरीले शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारीलगायतका शिक्षक शिक्षिकालाई पक्राउ गरेको छ ।
अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले मुख्यमन्त्री लालाबाबु राउतको निर्देशनमा आफूहरुमाथि लाठीचार्ज र धरपकड भएको आरोप लगाए ।अस्थायी शिक्षकहरुलाई पूर्ववत् रुपमा उमेरको हदसम्म पेसाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै उनीहरु गएको असार १९ गतेदेखि विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना बस्दै आएका छन् ।
माग पूरा नभएपछि सडक जाम गर्न उत्रेका शिक्षकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । मुख्यमन्त्री राउतले नै धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिएकाे तर पछि मुख्यमन्त्रीकै निर्देशनमा आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आन्दोलनरत शिक्षकहरुको आरोप छ ।
जीवनको महत्वपूर्ण समय देशको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको उनीहरुले गुनासाे छ । संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का झण्डै १ हजार २ सय शिक्षकको रोजगारी खोसिएको समितिका संयोजक धमेन्द्र कुमार यादवले बताए ।