कोशी मन्त्रिपरिषद् बैठक : प्रदेश योजना आयोगको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको कामसमेत हेर्ने गरी जिम्मेवारी तोकेको छ ।
बैठकले मोरङका प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा रहेको मिनाह सिफारिस समितिको निर्णयअनुसार जेनजी आन्दोलनका क्रममा नष्ट भएका अचल सम्पत्तिको मिनाह गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायका आर्थिक वर्ष २०८३/८४ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता शेर्पाले जानकारी दिए ।