दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल
दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा टिकट काट्ने यात्रुको भीड लागेको छ।
यात्रुको चाप व्यवस्थापन गर्दै सहज रूपमा टिकट उपलब्ध गराउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको जनाएको छ। यात्रुको आवागमन र टिकट वितरणलाई व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जानकारी दिएको छ।
दशैंका बेला उपत्यकाबाट आफ्नो गृहजिल्ला जाने यात्रुको संख्या बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको हो। चाडपर्वमा यात्रुले टिकट पाउन सास्ती भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सम्बन्धित निकायले आवश्यक तयारी गरेका छन्।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिबीच असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैं मनाउन घर फर्किने यात्रुलाई सहज यात्रा व्यवस्थापन गर्न सम्बन्धित निकायले समन्वय र सहकार्य गरिरहेका छन्।