निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमितिको बैठक बस्दै
काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले असोज १६ गते निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिले आज प्रारम्भिक छलफल गर्नेछ।
उपसमितिलाई अध्ययनका लागि दुई महिनाको समय दिइएको छ। उपसमितिमा सांसद ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।
नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि पोशाक खरिदमा अनियमितता भएको दाबी उठेपछि उक्त विषय अध्ययनका लागि उपसमिति गठन गरिएको हो। विशेषगरी डेढ महिनाका लागि नियुक्त निर्वाचन प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्ने प्रश्न उठेको छ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए। उनीहरूको पोशाकका लागि भूगोलअनुसार हिमाली क्षेत्रमा प्रतिव्यक्ति ११ हजार ५००, पहाडी क्षेत्रमा ७ हजार ९४५ र तराईमा ६ हजार १७० रुपैयाँ छुट्याइएको थियो।
प्रहरी अधिकारीहरूका अनुसार निर्वाचन प्रहरीको पोशाक शीर्षकमा करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो। यही खर्च र पोशाकको गुणस्तरबारे उठेका प्रश्नमा उपसमितिले अध्ययन गर्नेछ।