कांग्रेस महाधिवेशन : मतदान समय सारियो, दिउँसो १ बजेदेखि हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानको केही तयारी पूरा नभएकाले समय सारिएको हो। महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन्।
सभापतिसहित १८ पदाधिकारीका लागि ७१ तथा २१० केन्द्रीय सदस्यका लागि ७४१ गरी ८१२ उम्मेदवार चुनावी मैदानमा छन्। २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।
बागमतीका प्रतिनिधिले राष्ट्रिय सभा गृह तथा अन्य प्रदेश र समूहका प्रतिनिधिले खुलामञ्चमा तोकिएका विभिन्न मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिएको छ। मतदानस्थलमा प्रवेश गर्नुअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।