शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले लिए अनुमति
काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार ९१ टोलीका ५८२ पुरुष र २०६ महिला आरोहीले आरोहण अनुमति लिएका हुन्। अनुमति शुल्कबापत विभागले २४ करोड ७२ लाख ७ हजार ६०१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
सबैभन्दा धेरै आरोहीले ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि अनुमति लिएका छन्। मनास्लुका लागि ४३ टोलीका ५०० आरोहीले अनुमति लिँदा २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ।
यसैगरी धौलागिरि–१ का लागि ३६, हिम्लुङका लागि ३४ र आमादब्लमका लागि १९ जनाले अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा चीनका ११८, रुसका ६५, फ्रान्सका ६०, अमेरिका ५२ र बेलायतका ४५ जना छन्। नेपालका २३ आरोहीले पनि अनुमति लिएका छन्।