दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट निकाल्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार नगरी चाडपर्वका लागि सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।
उनका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्रवक्ता पौडेलले पछिल्ला ४–५ वर्षदेखि चाडपर्वमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास भइरहेको बताए। गत भदौ ३१ गतेसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको र दसैँमा त्यसमा करिब ८ देखि १० प्रतिशत वृद्धि हुने अनुमान रहेको उनले जानकारी दिए।