साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि मानवीय सहायता सामग्री प्रदान
काठमाडौँ । साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत नेपाल सरकारलाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ ।
केएस रिलिफले उपलब्ध गराएको सहायता सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।
सहयोगका लागि मन्त्री पुनले साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत् मुलुकबीचको गहिरो सम्बन्ध प्रतिबिम्बित गरेको बताए ।
नेपालस्थित साउदी राजदूतावासका अनुसार केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्नेछ ।