चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न आग्रह
काठमाडौँ । चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । ‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात् ‘केही शङ्कास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई प्रहरीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाएको हो ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले अपराध रोकथाम र अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्त्वपूर्ण हुने बताए । उनका अनुसार नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम गरिनेछ ।
कुनै शङ्कास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको थाहा पाए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । आपत्कालीन अवस्थामा प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सकिने र सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला बढ्न सक्ने डिजिटल ठगी र सामाजिक सञ्जालबाट फैलिने गलत सूचनामाथि समेत प्रहरीले निगरानी बढाएको छ । सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत गलत सूचना, दुष्प्रचार तथा डीपफेक सामग्रीको निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
यसपटकको सुरक्षा योजनामा एआईको प्रयोगबाट हुन सक्ने अनलाइन ठगीलाई समेत समेटिएको छ । नक्कली अनलाइन सपिङ तथा अफर, नक्कली लोटरी वा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्किम, मोबाइल बैंकिङ र डिजिटल वालेट ठगी तथा ओटीपी, पिन र पासवर्ड चोरी गर्ने फिसिङबाट सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
प्रवक्ता काफ्लेका अनुसार एआईबाट बनाइएका आवाज वा भिडियो तथा आफन्तको नामबाट असामान्य रकम माग गरिएका सन्देशलाई तत्काल विश्वास नगर्न नागरिकलाई आग्रह गरिएको छ ।
बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी प्रहरीले देशभर ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ । यात्रुको सुरक्षाका लागि देशभर ४०८ स्थानमा तथा भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ ।
प्रहरीले चोरी, डकैती, लुटपाट, जुवातास, अवैध सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव तथा सार्वजनिक स्थलमा हुने झैझगडामाथि विशेष निगरानी राख्ने जनाएको छ । प्रमुख बजार, सपिङ मल, बैंक तथा वित्तीय संस्था, प्रवेश–निकास नाका र बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा ड्रोन तथा सीसीटीभीमार्फत निगरानी बढाइएको छ ।
राजधानीबाट ठूलो सङ्ख्यामा नागरिक बाहिरिने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई पनि प्राथमिकता दिइएको छ । सवारीसाधन छुट्ने स्थानमै चालकको लाइसेन्स जाँच, मादक पदार्थ तथा लागूऔषध सेवन परीक्षण र सवारीसाधनको मेकानिकल परीक्षण गरिने प्रहरीले जनाएको छ ।
लामो समय घरबाहिर जाने नागरिकलाई घर खाली रहेको सूचना सामाजिक सञ्जालमा नराख्न प्रहरीले सुझाव दिएको छ । घर छाड्नुअघि झ्यालढोका बन्द गर्ने, ग्यास तथा विद्युत् जाँच गर्ने, भरपर्दो तालाचाबी प्रयोग गर्ने तथा सीसीटीभी र पर्याप्त प्रकाशको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
चाडपर्वमा सम्भावित विपद्का घटनालाई समेत सुरक्षा योजनामा समेटिएको छ । खोज, उद्धार तथा राहतका लागि विपद् तालिम केन्द्र र प्रदेशस्तरीय विपद् व्यवस्थापन गुल्मका प्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।
सुरक्षित चाडपर्वका लागि सुरक्षा निकायको प्रयाससँगै नागरिक, स्थानीय समुदाय, व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको भन्दै प्रहरीले शङ्कास्पद गतिविधि देखिए तत्काल सूचना दिन आग्रह गरेको छ ।