दसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा दुःख नाश गर्ने विश्वास गरिन्छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको स्थानमा नौ दिनसम्म क्रमशः नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ।
नवरात्रका अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा छ। देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवतीलगायत शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ। उपत्यकाबाहिरका मनकामना, गढीमाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही र शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ।
नवरात्रका नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर बडादसैँ मनाउने परम्परा छ।