कांग्रेसको परराष्ट्र नीति राष्ट्रिय हित र स्वाधीन निर्णयमा आधारित हुने
नेपाली कांग्रेसले राष्ट्रिय हित, सार्वभौमिक समानता, स्वतन्त्र निर्णय र पारस्परिक सम्मानमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने प्रस्ताव अघि सारेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छिमेकी तथा मित्रराष्ट्रसँग आपसी हित र आर्थिक साझेदारी विस्तार गर्दै नेपाललाई शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने नीति उल्लेख गरिएको छ।
प्रस्तावमा भूराजनीतिक प्रतिस्पर्धाले नेपालको आर्थिक सम्बन्ध, नागरिकको सुरक्षा र स्वतन्त्र निर्णय क्षमतामा दबाब बढाएको उल्लेख गर्दै दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।
विदेशमा रहेका नेपालीको सुरक्षा, सम्मान र अवसर सुनिश्चित गर्दै उनीहरूको ज्ञान, लगानी र आर्थिक सम्बन्धलाई राष्ट्रिय समुन्नतिसँग जोड्ने प्रस्तावमा उल्लेख छ। साथै ऊर्जा, वित्त, प्रविधि, आपूर्ति र कूटनीतिमा स्वाधीन निर्णय गर्न सक्ने राष्ट्रिय क्षमता विकासमा जोड दिइएको छ।