कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, ७ हजार ३१७ प्रतिनिधि सहभागी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अपराह्न ३ बजेसम्म मतदान हुनेछ।
महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि राष्ट्रियसभा गृह र खुलामञ्चमा दुई केन्द्रको व्यवस्था गरिएको छ।
राष्ट्रियसभा गृहस्थित केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन् भने खुलामञ्चस्थित केन्द्र ‘ख’ मा अन्य प्रदेश, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गरिरहेका छन्।
मतदान सम्पन्न भएपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।