राठौर : सभापति भए कांग्रेसलाई एकढिक्का बनाएर लैजान्छु
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आफूले चारतारे झण्डा र रुख चिन्ह नछोड्ने बताएका छन्। उनले आफू कुनै व्यक्तिको पछि नलागेको दाबी पनि गरेका छन्।
राठौरले आफू सभापति भए पार्टीलाई एकढिक्का बनाउने, न्याय र अनुशासन कायम गर्ने तथा पार्टीको माथिल्लो तहदेखि जिल्ला र क्षेत्रीय तहसम्म पार्टी हराउनेलाई कारबाही गर्ने बताए।
आफ्नो क्षेत्रमा कुनै विवाद नभए पनि अधिवेशन ढिला भएको भन्दै उनले त्यसको कारण निर्वाचन आयोगलाई सोध्नुपर्ने बताए। अधिवेशन ढिला हुँदा आफू उद्घाटन सत्रमा समेत सहभागी हुन नसकेको उनको भनाइ छ।
१५औँ महाधिवेशनमा युवाको सहभागिता बढ्नु सकारात्मक भए पनि उनीहरूलाई कांग्रेसको इतिहास बुझाउन आवश्यक रहेको राठौरले बताए। उनले यसपटक जित्न नसके १६औँ महाधिवेशनमा जितेर देखाउने दाबीसमेत गरे।
महाधिवेशनमा सहभागी नभएका शेरबहादुर देउवा र कोइराला पक्षलाई लक्षित गर्दै राठौरले कांग्रेसभित्रको विभाजनले पार्टी कमजोर बनेको बताए। आफू सभापति भए सबै पक्षलाई मिलाएर कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने उनको भनाइ छ।