सभामुख डोलप्रसाद अर्याल स्वदेश फर्किए, नेपालको जलवायु प्रस्ताव आईपीयूमा पारित
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएका छन् ।
तान्जानियामा आयोजित महासभामा सहभागी भई सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हो ।
भ्रमणका क्रममा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् सम्बोधन तथा हिमाल र अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने विषयको आपत्कालीन प्रस्ताव दुईतिहाइ मतसहित पारित भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
उनका अनुसार नेपालको संसदीय इतिहासमा पहिलोपटक यस्तो आपत्कालीन प्रस्ताव दुईतिहाइ मतले पारित भई छलफल भएको हो ।
भ्रमणका क्रममा युवा सांसदहरूको मञ्चमा युवा नेतृत्व, संसदीय सहभागिता र दिगो विकासबारे विभिन्न देशका सांसदसँग विचार आदानप्रदान भएको थियो । साथै अस्ट्रेलिया, बेलायत, चीन, भुटान र संयुक्त अरब इमिरेट्सलगायत देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता तथा छलफल भएको महासचिव पाण्डेयले बताए ।