नारायणी बाढीले चितवनतर्फ १ हजार १५० मिटर तटबन्धमा क्षति
नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा निर्माण गरिएको १ हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ।
सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका अनुसार सिद्धिगणेश वन क्षेत्रमा ६००, मझुवा वनमा ३००, हिरापुरमा १०० तथा गौरेश्वर, गाँजीपुर र कटेरो क्षेत्रमा ५०–५० मिटर तटबन्धमा बाढीले असर गरेको हो।
भरतपुरतर्फ नारायणी पुलदेखि गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ। तटबन्ध भएका क्षेत्रमा क्षति तुलनात्मक रूपमा कम भए पनि नवलपरासीतर्फ तटबन्ध निर्माण नभएका क्षेत्रमा बाढीले बढी कटान गरेको आयोजनाले जनाएको छ।
नवलपरासीतर्फ अमलटारी, नन्दपुर, सीतापुर, सेरी, पर्सौनी, तमासपुर, बगुवान, पिठौजी, नौनेघाट, घोसारघाट र सुस्तालगायत क्षेत्रमा बाढीले क्षति पुर्याएको छ।