कांग्रेस महाधिवेशन : २ बजेबाट हुने भनिएको मतदान अझै सुरु भएन
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि दिउँसो २ बजेबाट सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन । मतदानको तयारी पूरा हुन नसकेपछि यसअघि बिहान १० बजेबाट हुने भनिएको मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको थियो ।
तर १ बजे पनि मतदान सुरु हुन नसकेपछि पुनः २ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो । निर्धारित समय बितिसक्दा पनि मतदान सुरु हुन नसकेपछि महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि प्रतीक्षामा रहेका छन् ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि प्रतिनिधिको समूह र प्रदेशअनुसार विभिन्न केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले मतदानस्थलमा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदानस्थलमा निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजानसमेत रोक लगाइएको छ ।
मतदान सुरु हुन अझै केही समय लाग्ने बताइएको छ । मतदानपछि नयाँ सभापतिसहित कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ ।