दसैँअघि मुख्य राजमार्ग सञ्चालनमा ल्याउने सरकारको तयारी
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने सरकारले तयारी तीव्र बनाएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्बाट क्षतिग्रस्त राजमार्ग तथा सडक मर्मतको काम तीव्र गतिमा भइरहेको छ। उनका अनुसार भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडक मर्मतको काम अघि बढाइएको छ।
न्यौपानेले आगामी ४/५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालनमा ल्याउने तयारी रहेको र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुने बताए। सडकका कारण दसैँमा घर जाने यात्रु तथा खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानी पूर्ण रूपमा रोकिने अवस्था नहुने उनको भनाइ छ।
नेपाल प्रहरीका अनुसार भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवाका मुख्य राजमार्गहरू अवरुद्ध छन्। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड, कालीगण्डकी करिडोर र बेँसीसहर–खाङ्सार सडकखण्ड पनि विभिन्न स्थानमा प्रभावित भएका छन्। तीमध्ये केही सडक एकतर्फी रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन काम भइरहेको छ।