गोरखामा बूढीगण्डकीको बाढीले ३५ घर बगायो
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत ठूलो क्षति भएको छ।
आइतबार बिहान ४ बजे बाढी गाउँमा पसेपछि नदी तटीय क्षेत्रका स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए।
बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।