मलेसिया जाने कामदारको बायोमेट्रिक प्रणालीका सञ्चालक कैलाश खड्का पक्राउ
मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारको बायोमेट्रिक प्रणाली सञ्चालन गर्दै आएका कैलाश खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो। ब्युरोका एक अधिकृतले रातोपाटीलाई दिएको जानकारीअनुसार उनीमाथि मलेसिया जाने कामदारबाट बढी रकम असुल गरी ‘सिण्डिकेट’ सञ्चालन गरेको आरोपमा अनुसन्धान भइरहेको थियो।
खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामार्फत वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण हुँदै आएको थियो। उक्त प्रणालीका कारण कामदारमाथि अतिरिक्त आर्थिक भार परेको आरोप उनीमाथि लागेको छ।
खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्षसमेत हुन्। उनी वैदेशिक रोजगार बोर्डका सदस्यका रूपमा पनि कार्यरत थिए।
यसअघि मलेसिया जाने कामदारसँग सम्बन्धित भिएलएन, वान स्टप सेन्टर र जिएसजी लगायतका संयन्त्रमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको थियो। खड्कामाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको छ।