मधेसमा विद्युत् चुहावट घट्यो, दुई महिनामै १.६१ प्रतिशत कमी
काठमाडौं । मधेस प्रदेशमा विद्युत् चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत् चुहावट १ दशमलव ६१ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको साउन–भदौमा २२ दशमलव ५६ प्रतिशत रहेको चुहावट चालु आर्थिक वर्षको सोही अवधिमा २० दशमलव ९५ प्रतिशतमा झरेको छ। प्राधिकरणका अनुसार चुहावट नियन्त्रण, हुकिङ नियन्त्रण, बिलिङ तथा मिटर व्यवस्थापन र रिडिङमा सुधारका कारण चुहावट घटेको हो।
यस अवधिमा महसुल नतिर्ने ८ हजार ७८२ ग्राहकको लाइन काटिएको छ। तीमध्ये ८ हजार २३४ ग्राहकले पुनः विद्युत् जडान गराएका छन् भने २० करोड ९ लाख ७७ हजार रुपैयाँ बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ।
मधेसमा सबैभन्दा कम विद्युत् चुहावट बाराको सिमरा वितरण केन्द्रमा २ दशमलव ९४ प्रतिशत र सबैभन्दा बढी रौतहटको मौलापुर वितरण केन्द्रमा ४७ दशमलव ७७ प्रतिशत रहेको छ।