आजको मौसम : बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेस र कोशीका तराई भूभागमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।