सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका नीति सल्लाहकार लोइसको भेट
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य तथा सहयोग विस्तारका विषयमा छलफल भएको छ। मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर नेपालले काम गरिरहेको र यस क्षेत्रमा लगानीका लागि वातावरण सहज बन्दै गएको बताए।
भेटमा लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिएकी छन्। उनले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे पनि जानकारी लिएकी छन्।
यस्तै, ‘फ्रिडम अनलाइन कोलिसन’मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाबारे पनि छलफल भएको छ। ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र अनलाइन अधिकार प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्दै आएको छ।