सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप
पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । सडकमार्ग सञ्चालनमा नआएपछि मुस्ताङ जाने यात्रु र पर्यटकका लागि हवाई मार्ग मुख्य विकल्प बनेको हो ।
जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार यात्रुको चाप बढेपछि तारा र समिट एयरले उडान सङ्ख्या बढाएका छन् । यसअघि दुवै एयरलाइन्सले दैनिक पाँच–पाँच उडान गर्दै आएकामा अहिले दैनिक सात–सात वटासम्म उडान भइरहेको उनले बताए ।
मुख्य पर्यटकीय यामसँगै मुक्तिनाथ दर्शन र कागबेनीमा पितृतर्पणका लागि नेपाल तथा भारतबाट आउने तीर्थयात्रीको सङ्ख्या पनि बढेको छ । एयरलाइन्सले बिरामी, अशक्त तथा विदेशी पर्यटकलाई प्राथमिकता दिइरहेको जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार दिउँसो जोमसोम क्षेत्रमा हावाहुरी चल्ने भएकाले अधिकांश उडान बिहानै सञ्चालन गर्नुपर्ने अवस्था छ । अधिकांश उडान मध्याह्न १२ बजेसम्म सकिने गरेको उनले बताए ।
वर्षायामका कारण जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम उडान सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो । असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
सडक सञ्चालनमा आएपछि पोखरा–जोमसोम हवाई उडानमा रहेको यात्रुको चाप घट्ने विमानस्थल प्रमुख शर्माको भनाइ छ ।