रुसको ठूलो मिसाइल–ड्रोन आक्रमणमा युक्रेनमा कम्तीमा ३२ जनाको मृत्यु
काठमाडौँ । रुसले बुधबार युक्रेनमा मिसाइल र ड्रोनबाट गरेको ठूलो आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृतकमध्ये बालबालिकासमेत रहेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
आक्रमणमा आवासीय भवन, औद्योगिक संरचना तथा ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ । सबैभन्दा ठूलो क्षति उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रस्थित प्रिलुकीमा भएको छ । रुसी मिसाइल प्रहारबाट पाँचतले आवासीय भवन ध्वस्त हुँदा बिहीबार बिहानसम्म २२ जनाको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ । उद्धारकर्मीले भग्नावशेषबाट १५ जनालाई जीवितै उद्धार गरेका छन् ।
राजधानी किभमा पनि रुसी आक्रमणमा चार जनाको मृत्यु भएको छ । किभनजिकै ड्रोनको भग्नावशेष खस्दा बुधबार साँझ दुई जनाको मृत्यु भएको थियो भने भग्नावशेषबाट थप दुई शव भेटिएपछि मृतकको संख्या चार पुगेको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आक्रमणमा देशभर करिब १०० जना घाइते भएका छन् । उनका अनुसार रुसले रातभर युक्रेनतर्फ ७० वटा मिसाइल र दर्जनौँ शाहेद ड्रोन प्रहार गरेको थियो । तीमध्ये धेरै मिसाइल ब्यालिस्टिक रहेको उनले बताएका छन् ।
युक्रेनी वायुसेनाका अनुसार रुसले प्रहार गरेका ४६ वटा जेट इन्जिनयुक्त ड्रोनमध्ये ८० प्रतिशतभन्दा बढी खसालिएको थियो । जेलेन्स्कीले भने ब्यालिस्टिक मिसाइल अझै पनि युक्रेनका लागि मुख्य चुनौती रहेको बताएका छन् । उनले थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली प्राप्त गर्न प्रयास भइरहेको जानकारी दिए ।
रुसको रक्षा मन्त्रालयले भने आक्रमण सैन्य–औद्योगिक संरचनालाई लक्षित गरेर गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार किभसहित चेर्निहिभ, किरोभोहराद, डिनिप्रोपेत्रोभ्स्क, पोल्टाभा र खार्किभ क्षेत्रमा स्थल, समुद्र र हावाबाट प्रहार गर्न सकिने हतियार तथा ड्रोन प्रयोग गरिएको थियो ।
आक्रमणको चेतावनीपछि किभका धेरै बासिन्दाले रातभर भूमिगत मेट्रो स्टेसनमा आश्रय लिएका थिए । राजधानीमा रातभर पटक–पटक ठूलो विस्फोटको आवाज सुनिएको थियो ।
यसैबीच जेलेन्स्कीले पछिल्लो २४ घण्टामा युक्रेनी सेनाले रुसका चारवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन् । उनका अनुसार तीमध्ये दुईवटा तेलसम्बन्धी संरचना र एउटा सैन्य प्रशिक्षण केन्द्र थिए ।