दसैँ मनाउन २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
नेपालीको महान् चाड बडादसैँ मनाउन घटस्थापनादेखि हालसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। दसैँ नजिकिँदै जाँदा घर फर्किने यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख नाका तथा बसपार्कमा भीड बढेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार उक्त अवधिमा ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत यात्रु उपत्यकाबाहिरिएका हुन्।
उपत्यका छाड्ने यात्रुमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेका छन्। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि सार्वजनिक यातायातमा यात्रुको चाप बढेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेसँगै ती नाकामा सवारीसाधनको आवागमन पनि बाक्लिएको छ।
चाडपर्वका बेला यात्रुको आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको छ। यात्रुको सुरक्षा सुनिश्चित गर्न प्रहरी चौबिसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले जानकारी दिए।
उनका अनुसार यात्रुको सुरक्षित यात्रा, सवारीसाधनको चाप व्यवस्थापन र सम्भावित दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ।
लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे विशेष ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। यात्रु तथा चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरीको भनाइ छ।
यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।