परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न त्रिविलाई मन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले परीक्षा ढिलो हुने र नतिजा समयमै प्रकाशन नहुने समस्या समाधान गर्न निर्देशन दिएका हुन् । उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नसमेत आग्रह गरे ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई पठनपाठनमा मात्र सीमित नराखी राष्ट्रको नीति, कानुन तथा पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउने प्रमुख थिंक ट्याङ्क तथा अनुसन्धान संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
नेपालका १५ वटै विश्वविद्यालय कुनै न कुनै रूपमा त्रिभुवन विश्वविद्यालयसँग जोडिएकाले त्रिविले अन्य विश्वविद्यालयका लागि अभिभावकीय तथा समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
मन्त्री पोखरेलले त्रिविको अधिकार केन्द्रमा मात्र सीमित नराखी विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए । यसै वर्षदेखि काठमाडौँबाहिरका प्रदेशमा समेत दीक्षान्त समारोह आयोजना गरी विकेन्द्रीकरणको सुरुवात गर्न लागिएको उनले जानकारी दिए ।
उनले काठमाडौँभित्र र बाहिरका आङ्गिक क्याम्पसका जीर्ण पूर्वाधार सुधार गर्न, पार्क तथा खुला क्षेत्रको सरसफाइ र सौन्दर्यीकरण गर्न तथा विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने वातावरण बनाउन सुझाव दिए ।
पठनपाठनसँगै विद्यार्थीमा नवीन सोच र अनुसन्धानको प्रवर्द्धन गर्न इनोभेसन सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि मन्त्री पोखरेलले आग्रह गरे ।