हिल्सा नाकामा खाद्यान्न र औषधिको अभाव, नेपाली नागरिक अलपत्र
चीनसँगको हिल्सा नाका लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक र सुरक्षाकर्मी खाद्यान्न, खानेपानी तथा स्वास्थ्य उपचारको अभाव झेल्न बाध्य भएका छन्।
हिल्सा सीमा सुरक्षाचौकीका इन्स्पेक्टर केदार सापकोटाका अनुसार माछामासु र हरियो तरकारीको अभाव छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको छ। स्वास्थ्यचौकी र मेडिकल नहुँदा सामान्य औषधिको भरमा बिरामीको उपचार गर्नुपरेको छ।
चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ नेपाली स्वदेश फर्किएका छन्। तर नेपालतर्फको सडकमा हिउँ जमेकाले आवतजावत सहज हुन सकेको छैन। नारा लेक क्षेत्रमा सानो स्काभेटरबाट हिउँ हटाउने काम भइरहेको भए पनि सडक सफाइ सुस्त छ।
हिल्सामा ३५ सशस्त्र प्रहरी, २० नेपाल प्रहरी तथा अध्यागमन र भन्सारका आठ कर्मचारीसहित ६३ सरकारी कर्मचारी रहेका छन्। तत्काल सडक खुलाउन र खाद्यान्न तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न नसके संकट थप गहिरिने चिन्ता बढेको छ।