ओमानविरुद्ध नेपाल पहिले ब्याटिङमा, ओडीआई मान्यता जोगाउने दबाब
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन बाँकी खेल महत्वपूर्ण छन् ।
आइतबार क्यानडालाई हराएको नेपालले ओडीआई मान्यता जोगाउने सम्भावना कायम राखेको छ । नेपालले ओमान र क्यानडासँग खेल्न बाँकी चार खेलमध्ये कम्तीमा तीन खेल जित्नुपर्नेछ ।
हाल नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ । ओमान २९ खेलबाट ३३ अंकसहित नेपालभन्दा माथि छ भने क्यानडाले ३४ खेलबाट २५ अंक जोडेको छ ।
नेपालले आगामी शनिबार क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्ने तालिका छ ।