सिन्धुलीमा सुनकोशीमा खसेको कारमा सवार तेस्रो बेपत्ताको पहिचान, खोजी जारी
सिन्धुली, १९ साउन — सिन्धुलीको सुनकोशी नदीमा खसेको कारमा सवार तेस्रो बेपत्ता व्यक्तिको पनि पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बेपत्ता हुनेमा तिनपाटन गाउँपालिका–९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन्।
सोमबार बिहान करिब ११:४५ बजे फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कार दुर्घटनामा परी सुनकोशी नदीमा खसेको थियो। दुर्घटनापछि कारमा सवार तीनै जना बेपत्ता भएका छन्।
यसअघि बेपत्तामध्ये चालक जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय दिलकुमार लामा र गोलान्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापाको पहिचान खुलिसकेको थियो। दिलकुमार लामा जुगल गाउँपालिकाका पूर्व वडाध्यक्ष, नेकपा (एमाले) का नेता तथा निर्माण व्यवसायी हुन्।
प्रहरीका अनुसार हेमबहादुर तामाङले चलाएको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिएपछि कार सुनकोशी नदीमा खसेको हो। दुर्घटनापछि बस चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बेपत्ता तीन जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।