भोटेकोशी बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको नकारात्मक प्रभाव नेपाली सेयर बजारमा देखिएको छ। शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने ४३.८९ अंकले घटेको हो।
सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा कायम भएको छ। यस दिन बजारमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा आएको तीव्र गिरावटसँगै कुल बजार पुँजीकरणसमेत १.७१ प्रतिशतले घटेको छ।
सोमबार कारोबारमा आएका कम्पनीमध्ये २५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको मूल्य बढेको छ। त्यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
निर्जीवन बीमा समूहमा सबैभन्दा ठूलो गिरावट
समूहगत रूपमा हेर्दा सोमबार उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसमूहमा गिरावट आएको छ। सबैभन्दा ठूलो गिरावट निर्जीवन बीमा समूहमा देखिएको छ।
निर्जीवन बीमा उपसमूहको सूचक ४९०.०६ अंकले घटेको छ। यससँगै उक्त समूहको कुल बजार पुँजीकरणसमेत ५.०३ प्रतिशतले घटेको छ।
भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना, सवारीसाधन तथा भौतिक संरचनामा भएको क्षतिले निर्जीवन बीमा कम्पनीमाथि सम्भावित दाबीको दबाब बढ्ने आशंकाले लगानीकर्ताको मनोविज्ञान प्रभावित भएको देखिन्छ। यसअघि बाढीपछि पनि निर्जीवन बीमा र जलविद्युत् समूहमा उल्लेख्य गिरावट देखिएको थियो।
हाइड्रोपावर र जीवन बीमामा पनि दबाब
सोमबार होटल तथा पर्यटन समूहको उपसूचक १७४.८७ अंकले, हाइड्रोपावर समूह १०४.३६ अंकले र जीवन बीमा समूह २२२.३१ अंकले घटेका छन्।
भोटेकोशी बाढीपछि क्षति पुगेका जलविद्युत् आयोजनासँग सम्बन्धित कम्पनीहरूको सेयरमा यसअघि पनि तीव्र बिक्री दबाब देखिएको थियो। बाढीपछि रसुवागढी, मैलुङखोला, त्रिशूली, माथिल्लो मैलुङखोला, सान्जेन र चिलिमेलगायतका जलविद्युत् कम्पनीको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो।
यसरी प्राकृतिक विपत्तिबाट प्रत्यक्ष प्रभावित जलविद्युत् आयोजना र सम्भावित बीमा दाबीको जोखिमले सम्बन्धित कम्पनीप्रति लगानीकर्ताको धारणा कमजोर बनाउँदा समग्र बजारमा समेत बिक्री चाप बढेको देखिएको छ।