राप्रपाले बागमतीका संसदीय दल नेता उद्धव थापालाई कारबाही गर्ने
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता तथा सांसद उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रको निर्णय र निर्देशनविपरीत बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि थापामाथि कारबाही गर्ने निर्णय गरिएको हो।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
लिङ्देनका अनुसार थापालाई पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय भएको छ। पार्टीले बुधबार स्पष्टीकरण सोधे पनि थापाले त्यसको जवाफ नदिएको बताइएको छ।
अध्यक्ष लिङ्देनले साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको बताए। त्यसको भोलिपल्ट बागमती प्रदेशका १२ सांसदलाई केन्द्रीय कार्यालयमा बोलाएर पार्टीको निर्णयबारे जानकारी गराइएको उनको भनाइ छ।
त्यसैगरी, भदौ १ गते बागमती प्रदेश सरकारको समर्थन वा विरोधमा संलग्न नहुनेबारे पत्रसमेत पठाइएको लिङ्देनले बताए।
तर पार्टीको निर्णयविपरीत थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने पत्र पठाएपछि त्यसलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिइएको उनले बताए।
‘अचानक हिजो एमालेलाई समर्थन गर्ने भन्ने पत्र गयो, यो अनुशासन उल्लंघन हो,’ लिङ्देनले भने।
थापा २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछिल्लो समय उनी राप्रपाको बागमती प्रदेश संसदीय दलको नेतृत्वमा थिए।