चितवनमा १५५ जोखिमयुक्त रुख व्यवस्थापन, ११ हजार ८०९ क्युफिट काठ सङ्कलन
चितवन — डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जनधन तथा पूर्वाधारको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका विभिन्न स्थानमा रहेका १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ।
कार्यालयका अनुसार सडकखण्ड, सुरक्षा निकायका परिसर, विद्युत् प्रसारण लाइन आसपाससहित १३ प्रमुख स्थानबाट जोखिमयुक्त रुख हटाइएको हो। त्यस क्रममा एक हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९ दशमलव ६२ क्युफिट काठ र १६ दशमलव ४५ चट्टा दाउरा सङ्कलन भएको छ।
वन अधिकृत दिनेश हुमागाईंका अनुसार भरतपुरको आपटारी–देवघाट सडकखण्डबाट सबैभन्दा धेरै २५ वटा रुख हटाइएको थियो। त्यहाँबाट ३०६ थान, दुई हजार ४६० दशमलव २३ क्युफिट काठ र पाँच दशमलव ७५ चट्टा दाउरा सङ्कलन भएको छ।
भोजाड–लङ्कालाइन–पदमपुर क्षेत्रमा ३४ वटा रुख हटाउँदा ३२१ थान, दुई हजार १९७ दशमलव ५० क्युफिट काठ र तीन दशमलव १० चट्टा दाउरा व्यवस्थापन गरिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल आँपटारी परिसरबाट नौ, डिभिजन वन कार्यालय परिसरबाट २१, रामपुर–चानौली सडकखण्डबाट २६ र मस्र्याङ्दी–करिडोर २२० केभी प्रसारण लाइन क्षेत्रबाट १६ वटा जोखिमयुक्त रुख हटाइएको कार्यालयले जनाएको छ।
अन्य क्षेत्रमा जोखिमयुक्त क्याम्पाबाट चार, ट्राफिक प्रहरी कार्यालयबाट दुई, सुगम टोलबाट तीन, लामाटोल–कमिनीघाट–पदमपुर क्षेत्रबाट आठ, नेपाल प्रहरी शिक्षालयबाट दुई, राजमार्ग ट्राफिक सुरक्षाका लागि एक तथा खगेरी नहर क्षेत्रबाट चार वटा रुख हटाइएको छ।
वन अधिकृत हुमागाईंका अनुसार सडक तथा विद्युत् पूर्वाधारको सुरक्षा र जनधनको क्षति न्यूनीकरणका लागि जोखिमयुक्त रुख व्यवस्थापनलाई प्राथमिकता दिइएको हो। हटाइएका रुखबाट प्राप्त काठ तथा दाउरा लिलामीका लागि सूचना प्रकाशित भइसकेको र बोलपत्र आह्वानको प्रक्रिया अघि बढिरहेको उनले बताए।
जिल्लाका अन्य स्थानबाट पनि जोखिमयुक्त रुख व्यवस्थापनका लागि माग आउने गरेको कार्यालयले जनाएको छ। प्राप्त मागका आधारमा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन तथा अध्ययन भइरहेको छ।
आवश्यक अध्ययन र प्रक्रिया पूरा गरेपछि आगामी असोजदेखि जिल्लाका अन्य स्थानमा समेत जोखिमयुक्त रुख कटान तथा व्यवस्थापनको काम अघि बढाइने हुमागाईंले जानकारी दिए।